२१ असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय ५ जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीय महिला र रौतहटमा ७२ वर्षीय महिलाको मृत्यु भएको छ ।
त्यस्तै काठमाडौँमा ६६ र ७२ वर्षीय महिला तथा ४५, ५३, ६४ र ६९ वर्षीय पुरुष, ललितपुरमा ४६ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, नवलपरासीमा ७६ वर्षीय पुरुष तथा दाङमा ७१ वर्षीय महिलाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । संक्रमितमध्ये ०.६१ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च हो । त्यस्तै १ हजार १ सय २६ जना संक्रमित निको भएका छन् ।