२ चैत, काठमाडौँ । सरकारले हालसम्म १५ लाख ५५ हजार ४११ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पा.डा.जागेश्वर गौतमले हालसम्म पहिलो र दोस्रो प्राथमिकतामा परेका लक्षितमध्ये कुल ६८ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप दिइएको जानकारी दिए ।
सरकारले माघ १४ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल दोस्रो प्राथमिकतामा ६५ बर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई खोप दिने अभियान चलिरहेको छ ।
माघ १४ यता पहिलो प्राथमिकतामा परेकामध्ये ४ लाख ३८ हजार ८७९ जनाले खोप लगाएका थिए भने दोस्रो प्राथमिकता अन्र्तगत ११ लाख १६ हजार ५३२ जनाले खोप लगाएका छन् । दोस्रो प्राथमिकताको खोप कार्यक्रममा पहिलो चरणमा छुटेकाहरुपनि सहभागी छन् ।
पहिलो प्राथमिकतामा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईमा संलग्न व्यक्तीहरु लगायतलाई खोप दिइएको थियो । ६५ बर्ष नाघेका नागरिकलाई खाप दिइसकेपछि ५५ बर्ष नाघेका नागरिकहरुलाई खोप दिइने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
सरकारले थप खोप किन्ने प्रक्रिया अघि बढाइसकिएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन् ।