१६ वैशाख, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण तिब्र गतिमा फैलिन थालेपछि काठमाडौँ उपत्यकामा आज देखि निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा अवधीभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । अत्यावश्यक भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्नेछ ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, खानेपानी, स्वास्थ्य सामाग्री, तरकारी, खाद्यन्न, दुध तथा दुग्धजन्य पदार्थ बोकेका सवारी भने सञ्चालन गर्न दिइएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, कुरियर तथा डाँक सेवा, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनलाई सेवाको विषय उल्लेख गरी सञ्चालन गर्न दिइएको छ ।
सरकारी कार्यालय तथा सार्वजनिक सेवाका सवारीलाई सम्बन्धित मन्त्रालयबाट जारी अनुमति वा पासका आधारमा सञ्चालन गर्न दिइएको छ ।
औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल २४ सै घण्टा खोल्न दिइएको छ भने तरकारी, फलफुल, खाद्य सामाग्री तथा डिपार्टमेन्ट स्टोरहरु बिहान १० बजेसम्म तथा साँझ ५ देखि ७ बजे सम्मका लागि खोल्न दिइएको छ ।
त्यस्तै विवाह, व्रतबन्ध लगायतका कार्यक्रममा बढीमा १५ जनासम्म सहभागिले दुई वटा सम्म गाडी प्रयोग गर्नसक्ने तथा जिल्लाभित्र वा अन्तरजिल्लामा आवतजावतका लागि अनुमति लिन नपर्ने तर पार्टी प्यालेसबाट प्रयोग गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । गाडीमा अनिवार्य व्यानरको प्रयोग गर्नुपर्नेछ ।
सञ्चारकर्मी तथा पत्रकारहरुका लागि सूचना विभागबाट जारी परिचयपत्रको आधारमा आवतजावतका लागि सवारी सञ्चालन गर्न सकिनेछ ।
काठमाडौँ उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानिय तहले तोकेको क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
