Nepal's Trusted Health Online Portal

तथ्य जाँच: यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

Get real time updates directly on you device, subscribe now.

दीपक अधिकारी/साउथ एसिया चेक

नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले यससम्बन्धी विभिन्न सामग्री शेयर गरिरहेका छन् । यसै सिलसिलामा ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय’ भन्दै यस्तो सामग्री शेयर गरिएको छ:

३–४ टुक्रा कपुर, ३–४ वटा ल्वाङ, सानो चम्चाको १ चम्चा ज्वानो र २–३ थोपा नीलगिरीको तेल मलमलको सुती कपडामा पोको पारेर बाँध्नुस् र बेला बेलामा सुँघ्नुस् । सुँघिसकेपछि प्लाष्टिकको जिपर ब्यागमा राख्नुस् । नीलगिरीको तेल घरमा छैन भने नराख्दा पनि हुन्छ ।

यो सन्देशसँगै ती सामग्री राखिएको तस्बिर नेपाल टेलिभिजनकी पूर्व समाचार वाचिका रमा सिंहको फेसबुकमा बैशाख १४ गते शेयर गरिएको थियो । उक्त फेसबुक पोस्टमा प्रतिक्रिया जनाउँदै धेरैले जानकारीका लागि सिंहलाई धन्यवाद दिएका छन् । एकजनाले हिन्दी भाषामा बनाइएको त्यसको भिडियो पनि शेयर गरेकी छन् । सिंहको पोस्टमा ३० वटा प्रतिक्रिया आएका छन् भने त्यसलाई ४ हजारभन्दा बढी शेयर गरिएको छ । उक्त सामग्री ट्वीटरमा यहाँ र यहाँ अनि फेसबुकमा यहाँ र यहाँ शेयर गरिएको छ । भारतमा यस अघि नै भाइरल भएको यो सामग्री नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले सिंहको पोस्टबाट फैलाएको देखिन्छ ।

तथ्य जाँच

साउथ एसिया चेकले तथ्य जाँच गर्दा यो सामग्री भ्रामक र आधारहीन भएको फेला परेको छ ।

आयुर्वेदिक चिकित्सक प्रकाश ज्ञवालीका अनुसार कपुर, ल्वाङ र ज्वानो परम्परागत रुपमा घरेलु उपचारमा प्रयोग गरिने जडिबुटी भएता पनि तिनको प्रयोगले मानिसमा अक्सिजन लेभल बढाउँछ भन्ने दाबी प्रमाणित होइन। “यी चिजलाई आयुर्वेदमा औषधिको रुपमा वर्णन गरिएको छैन । आयुर्वेदिक औषधि हुनका लागि त त्यससम्बन्धी पुस्तकमा वर्णन गरिएको हुनुपर्यो,” डाक्टर ज्ञवालीले साउथ एसिया चेकलाई बताए ।

उनका अनुसार कपुरले रुघा लागेमा नाक खोल्न मद्दत गर्छ भने ल्वाङले कफलाई सुकाउँछ । “ज्वानोलाई पनि विभिन्न औषधिमा मिसाइन्छ । छातिसम्बन्धी समस्या भएमा यसमा कफ निकाल्ने वा सुकाउने गुण भएकोले यसको प्रयोग गरिन्छ,” उनले भने । त्यसैगरी नीलगिरीको तेल अरु चिजसँग मिसाएर भिक्स जसरी लिने गरिएको उनले बताए । “त्यसलाई भिक्सको रुपमा प्रयोग गरेर बन्द नाक खुलाउन सकिन्छ । यसले सास फेर्न सजिलो हुन्छ तर अक्सिजन लेभल बढाउँछ भन्ने कुनै प्रमाण छैन ।”

काठमाडौको मुलपानी नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पुष्पमणि खरालले त्यस्ता जडिबुटीको प्रयोगले अक्सिजन लेभल बढ्ने कुनै प्रमाण नभएको बताए । “अक्सिजन लेभल बढाउन फोक्सो तन्दुरुस्त हुनुपर्यो र कृत्रिम अक्सिजन दिनुपर्यो । फोक्सोको एक्सर्साइज गर्नुपर्यो,” उनले साउथ एसिया चेकलाई बताए, “अरु उपाय पनि छन् । जस्तो प्रोन पोजिसन (घुँडा र पेटमा सिरानी राखेर घोप्टो परेर सुत्ने), डिप ब्रिदिङ (गहिरो सास लिने) आदि ।” यी प्रक्रियाले सास फेर्न सहज बनाउने उनले बताए ।

हामीले गुगलको प्रयोग गरी इन्टरनेटमा प्रकाशित यसबारेका सामग्री खोजी गर्दा ती जडिबुटीको सेवनबाट अक्सिजन लेभल बढ्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै सामग्री फेला परेन । स्वास्थ्य खबर नामक अनलाइनले कपुर र ल्वाङबाट हुने फाइदाको बारेमा सामग्री प्रकाशित गरेको पाइयो ।

दुई जना चिकित्सकको भनाइ र अन्य सन्दर्भ सामग्रीको आधारमा उक्त पोस्टमा गरिएको कपुर, ज्वानो, ल्वाङ र नीलगिरीको तेलको प्रयोगले अक्सिजन लेभल बढ्छ भन्ने दाबी भ्रामक र आधारहीन ठहर्छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.