१४ वैशाख, काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा वैशाख १६ गते देखि लागु हुने गरी एक साताको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेपछि सरकारले निषेधाज्ञाको निर्णय लिएको हो ।
यसअघि कोभिड–१९ व्यवस्थापन केन्द्र (सिसिएमसी)ले तीन साताका लागि निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो ।
त्यस्तै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पनि वैशाख १६ गते देखि २२ गते सम्म अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरिसकेको छ ।
देशका विभिन्न क्षेत्रहरुमा कोरोना संक्रमणको अवस्था हेरी निषेधाज्ञा जारी गर्ने सोमबारको मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
मुख्य सहरमा पाँच सय र पहाडी जिल्लाहरुमा दुई सय संक्रमित नाघेमा प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिइएको छ ।
सरकारले हवाइ सेवा भने हाललाई यथावत सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै अन्तराष्ट्रिय उडानबाट आएका विदेशी यात्रुलाई होटल र नेपाली नागरिकलाई घरमै क्वारेन्टिनमा राख्ने मन्त्रिपरिषद्को निर्णय छ ।