१३ जेठ, काठमाडौँ । अर्थ मन्त्रालयले कोभिड–१९ बाट गम्भिर बिरामी बालबालिकाको उपचारार्थ पेडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरका लागि ४१ ओटा अस्पताललाई बजेट छुट्टयाएको छ । अर्थले विभिन्न ४१ अस्पतालका लागि कुल १ अर्ब ४१ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुल्सीपुर अस्पताललाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरिएको छ ।
मन्त्रालयले ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल र सर्लाही अस्पताललाई पेडियाट्रिक आइसीयू निमार्णका लागि ३ करोडका दरले बजेट छुट्टयाएको हो ।
त्यस्तै बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल र म्याग्दी अस्पताललाई ३–३ करोड रुपैयाँको व्यवस्था गरिएको छ ।
पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्वीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि ३–३ करोड रुपैयाँ दिइएको छ ।.