१४ माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानले एक वर्ष पूरा गरेको छ । खोप अभियान सुरु गरेको एक वर्ष पूरा भएको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।
खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको अवसरमा शुक्रबार मन्त्री खतिवडाले विज्ञप्ती जारी गरी धन्यवाद ज्ञापन गरेका हुन् ।
नेपाल सरकारले एक बर्ष अगाडी आजकै दिनबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गरेको थियो ।
मन्त्री खतिवडाले कोरोना संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारमा प्रमाणित उपायहरुको प्रयोग गर्दै जोखिम कम गर्ने सन्दर्भमा एक बर्ष अघि आजकै दिनबाट अग्रपक्तिंमा रहेर काम गर्नेहरुका लागि कोभिडविरुद्ध खोप अभियानको शुभारम्भ गरेको उल्लेख गर्दै खोप अभियानमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।
खोप उत्पादन गरेका देशहरुबाहेक खोप अभियान शुरुवात गर्ने विश्वका सिमित देशहरुमा नेपाल सबैभन्दा अगाडि रहेको मन्त्री खतिवडाले बताएका छन् ।
एक बर्षमा नेपालमा कोभिसिल्ड, अष्ट्राजेनेका, भेरोसेल, जान्सन एण्ड जान्सन, मोडर्ना र फाइजर खोपहरु प्रयोगमा आएको मन्त्री खतिवडाले बताएका छन् । हाल १२ बर्षमाथीका सबैका लागि खोप अभियान सुरु गरिएको छ ।
मन्त्री खतिवडाले हालसम्म विभिन्न माध्यममार्फत ४,२०,४९,६४० मात्रा खोप प्राप्त भएको र जसमध्ये ३,०६,०४,१५२ मात्रा प्रयोग भइसकेको जानकारी दिएका छन् ।
१८ बर्षमाथीका लक्षित जनसंख्याको ७० प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको र ८३ प्रतिशतले कम्तीमा एक मात्रा लगाएको मन्त्री खतिवडाको दावी छ ।
त्यस्तै १२ देखि १७ बर्ष उमेरसमुहका बालबालिकाहरुमा १८,७२,६७० जनाले पहिलो मात्रा र ३,५८,२९८ जना बालबालिकाहरुले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।
अग्रपक्तिंमा रहेर काम गर्नुपर्ने पेशाका झण्डै ३ लाखलाई बुस्टर डोज प्रदान गरिसकिएको बताइएको छ । कोभिडविरुद्धको खोप लगाउन बाँकी रहेका सबैलाई तीब्रताका साथ खोप व्यवस्थापन गरिने मन्त्री खतिवडाको भनाई छ ।
