१२ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका विभिन्न ६५ ओटा शिक्षण संस्थालाई स्तरोन्नतिको लागि सहमति दिएको छ ।
आयोगको कार्यकारी समितिको फागुन ५ को निर्णय अनुसार सिटिइभिटी अन्तर्गतका ६५ ओटा शिक्षण संस्थाहरुलाई स्तरोन्नतिका लागि सहमति दिइएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
सि.एम.ए., ल्याब असिष्टेण्ट, आयुर्वेदिक र अनमी विषयमा प्रिडिप्लोमा तह कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुले स्तरोन्नतिका लागि आयोगबाट सहमति प्राप्त गरेका हुन् ।
आयोगले उक्त शिक्षण संस्थाहरुलाई प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, प्रमाणपत्र तह फिजियोथेरापी, प्रमाणपत्र तह रेडियोग्राफी, प्रमाणपत्र तह सामान्य चिकित्सा र प्रमाणपत्र तह सामान्य चिकित्सा आयुर्वेद कार्यक्रममा स्तरोन्नति गर्ने गरी सहमति दिएको हो ।
स्तरोन्नतिको सहमति पाएका शिक्षण संस्थाहरुमा स्तरोन्नतिको कार्य सम्पन्न भएपछि परिषद्बाट अनुगमन तथा निरीक्षण हुने र तोकिएको मापदण्डका आधारमा सिट निर्धारणका लागि आयोगमा पेस भएपछि सिट निर्धारण हुने पनि आयोगले जनाएको छ ।