२४ बैशाख, काठमाडौं । वीरगञ्जमा बुधबार एकैदिन १७ जनाको ठूलो संख्यामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । संक्रमित सबै जना पर्सा जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बुधबारको नियमित अपडेटमा जानकारी दिएका छन् ।
थपिएका १७ जनामा पर्साका २ महिनाको शिशुदेखि ६६ बर्ष उमेर समुहका ७ जना महिला र १० जना पुरुष रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरु १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमितमध्ये १६ जना निको भएकामा निको भएकामध्ये फेरी ३ जनामा पुन संक्रमण भएको छ । संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।