२४ वैशाख, काठमाडौं । सरकारले जारी देशव्यापी लकडाउनलाई जेष्ठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रीपरिषदको बैठकले जारी लकडाउनलाई पूर्ववत रुपमै कायम राखी लम्ब्याउने निर्णय लिएको हो ।
लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या पारेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाजहरु उठिरहेको बेला कोरोना फैलिन नदिन लकडाउन प्रभावकारी भएको निष्कर्षसहित सरकारले लकडाउनलाई लम्ब्याउने निर्णय लिएको हो
यस अघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार क्राइसिस म्यानेजमेन्ट टिम (सिएमसी)ले लकडाउन खुकुलो पार्ने मोडालिटी तयार पारेको थियो । सिएमसीले ग्रिन, एलो र रेड जोन बनाउने प्रस्ताव गरेको थियो ।
मंगलबार प्रधानमन्त्री उपश्थित रहेको (सिएमसी) र उच्चस्तरीय समन्वय समितिको बैठकमा जिल्लाहरुलाई कोरोना संक्रमणको जोखिम मुल्याङ्कन गरेर रातो, पँहेलो र हरियो क्षेत्रमा विभाजन गरी सुरक्षित क्षेत्रहरुमा लकडाउन खुकुलो पार्ने विषयमा छलफल भएको थियो । तर प्रधानमन्त्री केपी शर्माओली लकडाउनलाई अहिलेकै स्वरुपमा कायम राख्ने पक्षमा उभिएपछि प्रधानमन्त्री कार्यालयले आजको बैठकमा सोहीअनुरुप प्रस्ताव तयार पारेको थियो ।
भारतमा कोरोना संक्रमणको अवस्था जोखिमपूर्ण रहेको र त्यसको असर नेपालमा पनि स्वभाविक रुपमा पर्ने तथा पर्याप्त मात्रामा टेष्ट नपुगेको कारण प्रधानमन्त्री ओली लकडाउनलाई अहिलेकै स्वरुपमा कायम राख्ने पक्षमा उभिएका हृुन् । ओलीले अहिले नै सुरक्षित क्षेत्र घोषणा गर्न नसकिने भएकाले परीक्षण बढाउनु पर्नेमा जोड दिएका छन् ।
मन्त्रीपरिषद बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकाको आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ । यसका साथै बिहीबार २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।
सरकारले यसअघि भोलि बैशाख २५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको थियो । नेपालमा कोरोनाको दोस्रो संक्रमण देखिएसंगै सरकारले गत चैत ११ गतेबाट देशव्यापी लकडाउनलाई निरन्तरता दिरहेको छ । चैत यता यो सम्म सरकारले लकडाउनको मिति पाँच पटक थप गरिसकेको छ । दोस्रो पटक थप गरि बैशाख ३ गतेसम्म, तेस्रो पटक थप गरि बैशाख १५ गतेसम्म, चौथो पटक थप गरि बैशाख २५ गतेसम्म र त्यसपछि पुन जेष्ठ ५ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ ।
यसअघि भारतले आगामी जेठ ४ गतेसम्मका लागि लकडाउन थपेको थियो । भारतले भने कोरोना संक्रमणको जोखिमको आधारमा रातो, पँहेलो र हरियो क्षेत्रमा विभाजन गरेको छ ।