२५ बैशाख, काठमाडौं । आज बैशाख शुक्लपूर्णिमा अर्थात २५ सय ६४औँ बुद्ध जयन्ती । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि बैशाख शुक्लपूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरुले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन् ।
ईसापूर्व ५६३ अर्थात आजभन्दा २५६४ बर्षअघि लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म बैशाख शुक्ल पूर्णिमाको दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सन्तानका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ बर्षको उमेरमा दरबार त्याग गरी ज्ञानको खोजीमा लाग्नुभयो ।
६ बर्षको तपस्यापछि ३५ बर्षको उमेरमा ईसापूर्व ५२८ मा भारतको बौद्धगयामा बैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भयो । सोपश्चात उहाँले भगवान बुद्धका रुपमा विश्वभर प्रसिद्धि कमाउनु भयो ।
यसैबीच सरकारले आज बिहीबार बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय गरेको छ । सोहीअनुसार सरकारले सबैलाई दिपावली गर्न आव्हान गरेको छ ।
कोरोना विरुद्धको लडाईमा अग्रभागमा खटीएका चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति उच्चसम्मानस्वरुप ऐक्यबद्धता जनाउन तथा कोरोनाका कारण मृत्युवरण गरेकाहरुको शान्तिको कामनाका लागि दीप प्रज्वलन गर्न सरकारले अव्हान गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५सय ६४औँ बुद्धजयन्ती र उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुने बताएकी छिन् ।
बुद्धजयन्तीमा विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धजयन्तीको अवसरमा शुभकाना व्यक्त गरेका छन् । ओलीले एक सन्देश जारी गर्दै भनेका छन् ‘गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं ।’
सरकारले आज बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न पनि अनुरोध गरेका छन् ।
साथै बुद्धजयन्तीको अवसरमा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सबैलाई सजग रहन आह्वानसमेत गरेका छन् ।
बुद्धजयन्ती र उभौली पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गर्दै गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।