२६ फागुन, काठमाडौं । विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोरोना नेगेटिभ रिपोर्ट वा पूर्ण मात्रा खोप कार्डमध्ये एक देखाए हुने भएको छ ।
फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकले हवाई वा स्थल मार्ग हुँदै नेपाल आउने यात्रुले खोप कार्ड वा कोरोना भाइरसको नेगेटिभ रिपोर्टमध्ये एक देखाए पुग्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सो बैठकको निर्णयानुसार आज अध्यागमन विभागले सूचना प्रकाशन गरेको छ । सूचनामा हवाई मार्ग वा स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रीले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको प्रमाण पत्र पेश गर्नु पर्ने उल्लेख छ । त्यस्तो प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा सुरु गर्नु ७२ घण्टा भित्रको कोभिड–१९ परीक्षण आरटी पीसीआर वा ट्रु नाट वा जिन एक्सपर्टको नेगेटिभ रिपोर्ट देखाउनु पर्ने सूचनामा उल्लेख छ ।
नेपालबाट प्रस्थान गर्ने यात्रुहरुले भने सम्बन्धित मुलुकको स्वास्थ्य सम्बन्धी मापदण्ड अनुसार सम्बन्धित एयरलाइन्सले तोकेबमोजिम स्वास्थ्य सम्बन्धी कागजात पेश गर्नुपर्नेछ ।
