६ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन सर्वसाधरणलाई अपील गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारी हस्ताक्षरित १० बुँदे सूचना अनुरोधमा बढ्दो संक्रमणको अवस्थासँगै बढ्दो जोखिमलाई मध्यनजरगर्दै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित सबै व्यक्ति, संस्था, निकाय, कार्यालय, तह–तप्काले सावधानीका कार्य गर्न अनुरोध गरिएको छ ।
मन्त्रालयले विमानस्थल, हवाईलगायतका सार्वजनिक यातायात, गोष्ठी, सेमिनार, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, स्टेडियमलगायतका भिडभाड हुने ठाउँहरुमा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गरेको छ ।
