५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५६९ नमुना परीक्षण गर्दा ४३५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ६६७ आरटी पीसीआर गर्दा ३१७ र १ हजार ९०२ एन्टिजेन विधीबाट परीक्षण गर्दा ११८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५६ जना भने संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८२ हजार ७१९ र एन्टिजेन विधीबाट १ लाख ४१ हजार २५७ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६८ हजार २२८ केस संक्रमणमुक्त भएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.५ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।
अब देशभर २ हजार ५३७ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।