१५ जेठ, काठमाडौं । स्वास्थ्य क्षेत्रलाइ प्रमुख प्राथमिकता दिदैं अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् ।
कोरोना कहरबीच ल्याइएको बिहीवार अपरान्ह सार्वजनिक गरिएको बजेटमा यो पटक ९०.६९ अर्ब रुपैंया स्वास्थ्य मन्त्रालयको लागि विभाजन गरिएको अर्थ मन्त्री खतिवडाले जानकारी दिएका छन् ।
चालु आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रका लागि ६८ दशमलव ७८ अर्ब रुपैंया विनियोजन गरेको थियो । यो पटक स्वास्थ्यको बजेट करिब २२ अर्बले बढेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोनाका कारण विश्व अर्थतन्त्र प्रभावित रहेको अवस्थामा सरकारले अन्य क्षेत्रको बजेट कटौती गरेर स्वास्थ्य क्षेत्रको बढाएको हो ।
विश्वव्यापी मन्दीका कारण नेपालको व्यापार र अन्य क्षेत्र पनि प्रभावित रहेको बताउँदै अर्थमन्त्री खतिवडाले यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा सानो ल्याएका छन् ।
आगामी आर्थिक वर्षको बजेट सिलिङ् १४ खर्ब ७४ अर्ब ६४ करोड रहेको छ भने चालु आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ ।

