१५ जेठ, काठमाडौं । नेपालमा बिहीबार थप ४ ओटा जिल्लाहरुमा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार दोलखा, सोलुखुम्बु, बझाङ र दार्चुला जिल्लामा पनि संक्रमित भेटिएको हो ।
यो सँगै नेपालका ७७ जिल्लाहरु मध्ये ५१ ओटा जिल्लाहरुमा कोरोना संक्रमण फैलिएको छ । बिहीबार दिउँसोसम्म मात्र नयाँ १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार दोलखाका १९ र २० बर्षीय दुई जना युवकमा कोरोना संक्रमण देखिएको छ । भने सोलुखुम्बुका एक जना २६ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी बझाङका एक जना ५५ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने दार्चुला जिल्लाका एक जना २५ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
प्रदेशगत विवरण अनुसार प्रदेश १ मा १२९, प्रदेश २ मा ४१५, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, प्रदेश ५ मा ३६९, कर्णाली प्रदेशमा ४७, सुदूरपश्चिम प्रदेशमा २१ जनामा कोरोना संक्रमण भएको छ ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । संक्रमितमध्ये १८७ जना निको भएका छन् । ५ जना संक्रमितको ज्यान गएको छ । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।