२ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार ८७१ कोरोनाको एक्टिभ केश रहेको छ ।
४ हजार ६८८ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ४ हजार ६८८ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये १०१ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
२२ हजार ७५६ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २२ हजार ७५६ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८७१ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
२८५ जना निको भए
पछिल्लो २४ घण्टामा २८५ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ११ हजार ५३४ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ६६.१२ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।