१२ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ महिला र ८ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय मोरङमा ५६ वर्षीया र ६५ वर्षीया दुई महिलाको मृत्यु भएको छ ।
त्यस्तै भक्तपुरकी ६४ वर्षीया महिला र मकवानपुरकी ७१ वर्षीया एक महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमणकै कारण उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिराहाका ५५ वर्षीय पुरुष र झापाका ८३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै चितवनका ५१ वर्षीय एक पुरुष, कास्कीका ५२ वर्षीय एक पुरुष र रुपन्देहीका ६० वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।