२७ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण शनिबार थप १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ११ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण पर्साकी ७८ वर्षीया एक जना, काठमाडौँकी ७६ वर्षीया एक जना र तनहुँकी ७६ वर्षीया एक जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै सुनसरीका ४३ वर्षीय एक पुरुष, काठमाडौँका ५१ र ५४ वर्षीय दुई पुरुष, भक्तपुरका ३८ र ७२ वर्षीय दुई पुरुष, चितवनका ६१ वर्षीय एक पुरुष, स्याङ्जाका ८५ वर्षीय एक पुरुष, गोरखाका ४५ वर्षीय एक पुरुष, कास्कीका ५१ वर्षीय एक पुरुष र रुपन्देहीका ४० र ६० वर्षीय दुई पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । संक्रमितमध्ये ०.६३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।