काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत एक ६० बर्षीय पुरुषको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । वालिङ् स्थायी ठेगाना भएका ती पुरुषको सोमबार बिहानै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो ।
जेठ २१ गते भारतबाट स्याङ्जाको वालिङ आई २२ गते उपचारका लागि पोखरा आएको र उनमा मृगौला, सुगरको समस्या रहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उहाँलाइ कोरोना संक्रमण हुनुपूर्व हामीले तत्कालै पोखरा पठाएर प्रिआइसोलेसनमा राखेको थियौं, वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेले फोनबाटै जानकारी दिए ।
भारतबाट श्रीमती सहित आएका ती व्यक्तिको स्वास्थ्यमा अन्य समस्या समेत भएकाले पोखरा ल्याएर प्रिआइसुलेसनमा राखिएको र संक्रमण पुष्टी हुना साथ आइसुलेसनमा राखेर उपचार गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।
बाहिरबाट आउनेलाई कही कतै सम्पर्कमा आउन नदिई स्थानीय तहहरुले स्थापना गरेको क्वारेन्टाइनमा राख्ने गरिएपनि संक्रमितलाइ वालिङबाट पोखरा ल्याइएकाले त्यो बीचमा सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिएको निर्देशक शर्माले बताएका छन् ।
भारतको राजधानी दिल्लीमा बस्दै आएका ती व्यक्ति श्रीमती सहित विभिन्न सवारी साधनमार्फत नेपाल भारत सिमा सुनौलीसम्म आएको र त्यहाँबाट गाडी रिजर्भ गरेर वालिङ आएको नगरपालिकाले जनाएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयले संक्रमितकी श्रीमती, सुनौलीदेखि स्याङ्जासम्म ल्याउने सवारी साधन, स्याङ्जाबाट पोखरासम्म ल्याउने सवारी, संक्रमण पुष्टी हुनुअघिसम्म उनीसँग सम्पर्कमा रहेका व्यक्तिको आइतबारबाटै खोजी सुरु गरेको जनाएको छ ।