२६ जेठ, काठमाडौं । सुदुरपश्चिम सरकारले भारतबाट नेपाल फर्किएका नेपालीको कोरोनाका साथसाथै औंलोको पनि परिक्षण गर्ने भएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकामा औंलोको पनि संक्रमण देखिन थालेपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो ।
औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गर्ने भनेका हौं, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले भने । अबदेखि क्वारेन्टिनमा बसेका व्यक्तिलाई ज्वरो आएमा कोरोना भाइरसको जाँचसँगै औलो रोगको जाँच अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई आग्रह समेत गरिसकिएको छ ।
“समयमै रोगको पहिचान गरी उपचार गरेर मृत्युबाट जोगाउन औलोको परीक्षण गर्न आग्रह गरेका छौँ”, उनले भने, “भारतबाट नेपाल आउने व्यक्तिमा औलो रोगको सङ्क्रमण देखिएको छ, आयातित औलो रोगीको अनुपात आधाभन्दा बढी भएको हुनाले हाल क्वारेन्टिनमा बसिरहेका व्यक्तिमा अनिवार्यरूपमा औलो जाँच गरिनुपर्ने देखिएको छ ।”
केही दिनअघि मात्रै क्वारेन्टिनमा बसेका एकजनामा अत्यन्त कडा खालको पि फाल्सीपारम औलो र कञ्चनपुर जिल्लाको देखतभूली र लालझाडीमा गरी तीन व्यक्तिमा पि भाइभेक्स औलोको सङ्क्रमण देखिएपछि यस्तो निर्रण लिइएको निर्देशक अवस्थीले प्रस्ट्याए ।
मन्त्रालयको निर्णयसंगै स्वास्थ्य कार्यालय कञ्चनपुरले क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना भाइरसको आरडिटी परीक्षणसँगै छुट्टै कीटको माध्यमबाट औलोको सङ्क्रमण भए नभएकोबारे परीक्षण गर्ने व्यवस्थासमेत गरेको छ ।