२९ असोज, काठमाडौँ । नेपालमा बिहीबार ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ९ सय ३५ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख २१ हजार ७ सय ४५ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ८४ हजार ५ सय १८ जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ६९.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा र २४ हजार १ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ८ सय २५ जना क्वारेन्टिनमा रहेका छन् ।
बिहीबार देशभरी ३ सय १४ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ६८ जना भेन्टिलेटरमा रहेका छन् ।