२७ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमण (कोभिड–१९)को कारण थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८३ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार धनुषा जिल्ला विदिह नगरपालिका–८ बस्ने ६० बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन २६ गते राती १०:०० बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । उनी मधुमेहका रोगी थिए ।
त्यस्तै धनुषा जिल्ला मिथिला विहारी नगरपालिका–५ का ५० बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन २५ मृत्यु भएको हो । मधुमेहका रोगी उनी क्यान्सर अस्पताल जनकपुरमा काम गर्दथे ।
काभ्रे पाँचखाल नगरपालिका–१ का ५० बर्षीय महिलाकोे पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनको साउन २७ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको हो ।
त्यस्तै कोभिड–१९ बाट सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–४ बस्ने ८४ बर्षीय पुरुषकोे मृत्यु भएको छ । उनको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो ।
नेपालमा हालसम्म २३ हजार ९४८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १६ हजार ६६४ जना संक्रमण मुक्त भएका छन् ।