Nepal's Trusted Health Online Portal

नर्भिक अस्पताल र काठमाडौं महानगरबीच सहमति, ३५ दिनभित्र अवैध संरचना हटाइने

Get real time updates directly on you device, subscribe now.

२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका र नर्भिक अस्पतालबीच सरकारी जग्गामा मापदण्ड विपरीत बनाइएका संरचना हटाउने विषयमा सहमति भएको छ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा हिँजो २४ घण्टाभित्र संरचना भत्काउन निर्देशन दिएको महानगरले नर्भिकलाई आज ३५ दिनको समयसिमा दिएको छ ।

महानगर र अस्पतालबीच अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयबारे अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति पनि भएको छ ।

महानगरले संरचना हटाउन अस्पताललाई हिँजो दिएको समयसिमा सकिएपछि मेयर बालेन्द्र साह अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकको निर्देशन अनुसार अगाडि बढ्न लचक भएका हुन् ।

अस्पतालले उक्त जग्गामा अक्सिजन प्लान्ट लगायतका सामग्री सार्नका लागि आवश्यक समय मागेपछि दुवै पक्षका मेडिकल र स्ट्रक्चरल इन्जिनियर राखेर जग्गा खाली गराउने काम अघिबढाउन महानगर सहमत भएको हो ।

मेयर साहले नियम सबैलाई बराबर हुनुपर्ने भन्दै सार्वजनिक जग्गा र फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानुन बराबर लाग्ने बताए ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले अस्पतालसँग सम्झौता अनुसार आठ वर्ष बाँकी रहेको भन्दै सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको जिकिर गरे । यद्यपी महानगर र अस्पतालका प्राविधिकको समितिले दिएको सुझाव अनुसार अगाडि बढ्ने अध्यक्ष सिहँको भनाई छ ।

नर्भिक अस्पतालले २०६५ साल जेठ १ गतेदेखि २० वर्षसम्मको लागि सरकारसँग १ रोपनी ८ आना जग्गा लिजमा लिने गरी सम्झौता गरेको थियो । लिजवापत वार्षिक ३७ हजार ९८९ रुपैयाँ भाडा तिर्ने र प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्ने सहमति थियो ।

लिजमा लिएको उक्त जग्गामा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाई जस्ता उपचारमा अत्यावश्यक उपकरण राखेर बिरामीको उपचार गर्दै आएको अस्पतालले जनाएको छ ।

सो जग्गामा बनाइएको अक्सिजन प्लान्टबाट १०० जना बिरामीलाई अक्सिजन दिइरहेकाले तत्काल सो संरचना नभत्काइएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.