६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा अब ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा ६ हजार ६७७ आरटी पीसीआर विधी र ४ हजार २४९ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४४२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ३२ लाख ६९ हजार २६६ जनाको आरटी पीसीआर विधीबाट र १ लाख ४२ हजार ५६२ जनाको एन्टिजेन विधीबाट गरी कुल ३४ लाख ११ हजार ८२८ ओटा नमुनाको कोरोना भाइरस परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
परीक्षण गरिएकामध्ये हालसम्म ६ लाख ४७ हजार ६५१ नमुनाको नतिजा पोजिटिभ देखिएको छ । संक्रमितहरुमा ३९.२ प्रतिशत महिला र ६०.८ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ । संक्रमितमध्ये ८९.३ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर ५१ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७२६ पुगेकोे छ ।
नेपालका ४२ जिल्लाहरुमा ५०० भन्दा बढी संक्रमितहरु रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, कैलाली, चितवन, धनुषा, सुनसरी र काभ्रेपलाञ्चोक जिल्लामा सबैभन्दा बढी संक्रमणको भार रहेको छ ।