२६ बैशाख, काठमाडौं । संघीय संसदको बर्षे अधिवेशन सुरु हुनुअघि गरिएको सांसदहरुको कोरोना परीक्षणमा २१२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ आएको छ । हिँजो बिहीबार सांसदहरु तथा संसद भवनमा प्रवेश गर्ने कर्मचारी लगायतको स्वाब संकलन गरिएको थियो ।
कोरोना संक्रमणबाट बच्न व्यापक सतर्कता अपनाउँदै अधिवेशन बैठकमा सहभागी हुने सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । स्वाब परीक्षण गरिएकाहरु मध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार बिहीबार परीक्षण गरिएका सबै ४४० जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । परीक्षण गरिएकाहरुमध्ये २१२ जना सांसद र बाँकी संसद सचिवालयका कर्मचारीहरु हुन् ।
प्रधानमन्त्रीको आज स्वाब संकलन, रिपोर्ट आउन बाँकी
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आज स्वाब संकलन गरिएको छ । मध्यान्ह १२ बजेतिर चिकित्सकहरुको टोली गएर उनको थ्रोट स्वाब संकलन गरेका थिए । उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.पाण्डेका अनुसार बिहीबार परीक्षण गर्न नपाएका अन्य सांसदहरुको पनि आजै पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
संसद बैठक ४ बजे बस्दै
संघीय संसदको बर्षे अधिवेशन अहिले दिउँसो ४ बजेबाट सुरू हुने संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश पेश गर्नेछन् भने गृहमन्त्री रामबहादुर थापाले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ पेश गर्ने सहित अन्य ८ ओटा कार्यसूची रहेको छ ।