१० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ३५ हजार ४९७ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ५६९ आरटी पीसीआर विधी र ३ हजार २६५ एन्टिजेन गरी जम्मा १३ हजार ८३४ नमुना परीक्षण गरिएकोमा २ हजार २३७ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.६७ प्रतिशत महिला र ६०.३३ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेकोे छ ।
त्यस्तै २ हजार ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ४३ हजार ६१५ छ । संक्रमितमध्ये ९४.६ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।