१३ फागुन, काठमाडौं । सरकारले आज देखि देशव्यापी रुपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । आज देखि सुरु भएको खोप अभियान चैत ७ गतेसम्म चल्नेछ ।
१३ गतेदेखि सञ्चालन हुने निःशुल्क खोप अभियान दुई चरणमा सम्पन्न हुनेछ । अभियानमा ५० हजार स्वयंसेवक तथा ३० हजार स्वास्थ्यकर्मी परिचालित हुने छन् ।
स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको छ ।
गौतमका अनुसार तराईका २१ र काठमाडौं उपत्यकाका ३ गरी २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ । ५१ जिल्लामा भने नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा भने यसअघि नै खोप लगाइसकिएको छ ।
अभियानभरी बालबालिकाका लागि खोप विकास गरिरहेको संस्था गाभीको सहयोगमा गाभीको करिब एक अर्ब १२ करोड ६७ लाख तथा नेपाल सरकारको २३ करोड २१ लाख गरी करिब एक अर्ब ३५ अर्ब खर्च हुनेछ ।
नेपालमा ३५ वर्षदेखि दादुरा र ११ वर्षदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । सरकारले सन् २०१९ मा दादुरा–रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । सो लक्ष्य प्राप्त नभएपछि पुनः २०२३ सम्ममा नियन्त्रण गर्ने अर्को लक्ष्य रोखेको थियो ।
दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।
चिकित्सकहरुका अनुसार दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट सर्दछ । रुबेला पनि भाइरसकै कारणबाट हुने संक्रामक रोग हो जुन श्वास प्रश्वासको माध्यमबाट सर्दछ । यि भाइरसहरु सङ्क्रमित व्यक्तिको नाक तथा घाँटीमा रहन्छ । उक्त भाइरस वृद्धि हुँदै श्वासनली तथा अन्य भित्री अङ्गहरुमा समेत सङ्क्रमण हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार बाल मृत्युको कारणहरु मध्ये दादुरा एक प्रमुख कारण हो भने खोप अभियानमा प्रयोग हुने सबै खोपहरु सुरक्षित, प्रभावकारी र गुणस्तरीय छन् ।
सरकारले रुबेला दादुराविरुद्धको खोप नियमित खोपको रुपमा बालबालिकालाई निःशुल्क दिँदै आएको छ ।
