१० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकामा फागुन १६ गतेदेखि रुबेला दादुरा खोप अभियान सञ्चालन हुने भएको छ । पाँच वर्ष मुनिका बालबालिकाका लागि १६ गतेदेखि सञ्चालन हुने खोप अभियान दुई चरणमा सम्पन्न हुनेछ ।
फागुन १६ गतेदेखि १९ वटा वडा र फागुन २० गतेदेखि १३ वटा वडामा खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका अनुसार रुबेला दादुरा खोप लगाउन छुटेका वा नियमित तालिकामा खोप लगाउन आएकालाई पनि खोप दिइने छ ।
चिकित्सकहरुका अनुसार दादुरा अति छिटो सर्ने संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट सर्दछ । रुबेला पनि भाइरसकै कारणबाट हुने संक्रामक रोग हो जुन श्वास प्रश्वासको माध्यमबाट सर्दछ । यि भाइरसहरु सङ्क्रमित व्यक्तिको नाक तथा घाँटीमा रहन्छ । उक्त भाइरस वृद्धि हुँदै श्वासनली तथा अन्य भित्री अङ्गहरुमा समेत सङ्क्रमण हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार बाल मृत्युको कारणहरु मध्ये दादुरा एक प्रमुख कारण हो भने खोप अभियानमा प्रयोग हुने सबै खोपहरु सुरक्षित, प्रभावकारी र गुणस्तरीय छन् ।
सरकारले रुबेला दादुराविरुद्धको खोप नियमित खोपको रुपमा बालबालिकालाई निःशुल्क दिँदै आएको छ ।