१० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गरेका छन् ।
बिहीबार शिलान्यास गरिएको १५ शय्याको उक्त अस्पताल राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा स्थापना हुन लागेको हो । अस्पताल निर्माणका लागि सरकारले साढे २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले अस्पताल समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण रुपमा सहयोग गर्ने आश्वासन समेत दिए । उनले आफू पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्यका लागि सदैव लागि रहेको बताए ।
संविधानले नै हरेक नागरिकको स्वास्थ्य उपचारको ग्यारेन्टी गरेको भन्दै मन्त्री बस्नेतले भने पैसा नभएको कारण कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन दिइने छैन । त्यस्तै चिकित्सा शिक्षा ऐन चाँडै परिमार्जन गरिने र धेरैले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने बस्नेतले बताए ।
कार्यक्रममा प्रतिनिधि सभा अर्थ समिती सभापति सन्तोष चालिसेले अस्पतालको निर्माण कार्य समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए । त्यस्तै सांसद विष्णुदेवी पुडासैनीले नगर पालिकाले स्वास्थ्यको क्षेत्रमा उदाहरणीय काम गरेको बताइन् ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । नगरपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने अभियान चलाएको छ ।
कार्यक्रममा निर्माण व्यावसायी जनार्दन ढकालले सरकारले समयमै भुक्तानी गरिदिए समयमै अस्पताल सम्पन्न गर्ने बताए ।