८ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले कोरोना भाइरसको पिसिआर परीक्षण नगरी अदालतमा उपश्थित गराएको भन्दै एक अभियुक्तलाई फिर्ता पठाएको छ ।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले कोरोेना परीक्षण रिपोर्ट अनिवार्य गर्न आदेश दिएको हो । प्रहरीले विद्युतीय कारोबारसम्बन्धी मुद्दाका एक अभियुक्तलाई काठमाडौं जिल्ला अदालतमा उपश्थित गराएको थियो ।
अदालतले अबदेखि अदालत ल्याउनुअघि प्रतिवादीको पिसिआर परीक्षण रिपोर्ट अनिवार्य ल्याउन आदेश दिएको छ । साथै प्रतिवादीसँग अत्यन्त निकट रहनुपर्ने भएकाले सँगै आउने प्रहरीको पनि पिसिआर परीक्षण अनिवार्य गर्न भनेको छ ।
प्रहरीले अभियुक्तको आरडीटी जाँच गराएर अदालतमा उपश्थित गराएको थियो । तर विश्व स्वास्थ्य सङ्गठनको कार्यविधी अनुरुप पिसिआर परीक्षण नै गर्नुपर्ने भन्दै अदालतले उक्त आदेश दिएको हो ।