Nepal's Trusted Health Online Portal

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको विवाद समाधान गर्न सहजीकरण समिति गठन

Get real time updates directly on you device, subscribe now.

८ पुस, काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको विवाद समाधान गर्न सहजीकरण समिति गठन भएको छ ।

काठमाडौँ विश्वविद्यालयको सोमबार बसेको ९८ औँ सभाको बैठकले केयू र धुलिखेल अस्पतालबिचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार पार्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संंयोजकत्वमा सात सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।

समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा.डा. मनोज हुमागाईँ, स्कुल अफ ल का डिन ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा.डा. राजीब श्रेष्ठ रहेका छन् ।

बैठक विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको थियो ।

बैठकले सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी दिएको छ ।

यसअघि विश्वविद्यालयले एकपक्षियरुपमा आर्थिक र कर्मचारी नियमावलीसँग बाझिने गरी निर्णयहरु गरेको भन्दै अस्पतालले असन्तुष्टि जनाएपछि विवाद उत्पन्न भएको थियो ।

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिच विवाद उत्पन्न भएपछि गत साउन ३० गते बसेको ९७ औँ सभाको बैठकले कुलपति एवम् प्रधानमन्त्री ओलीले संवादबाट समाधान खोज्न गरेको प्रस्ताव पारित भएको थियो ।

यसबिचमा सहकुलपति एवम् शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले दुवै पक्षलाई संवाद र सहमतिमा ल्याउन पहल गरेकी थिइन् ।

 

 

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.