४ असार, काठमाडौं । नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८० जना महिला र ५९१ जना पुरुष गरी ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आज एक जिल्ला थप भएको हो ।
संक्रमितमध्ये अहिलेसम्म १ हजार १८६ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेमध्ये १ सय १४ जना महिला र १ हजार ७२ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
त्यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली गोदावरी नगरपालिका–०४ का ४६ बर्षीय पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । उनको उपचारको क्रममा असार ३ गते बेलुकी मृत्यु भएको हो ।
लम्कीचुवा निवासी ४३ बर्षीय मृतक महिलाको पनि कोरोना पुष्टि भएको छ । उनको जेठ ३१ गते टाउकोमा चोट लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत रहेकोमा असार २ गते मृत्यु भएको थियो । उनको असार ३ गते साँझ कोरोना पुष्टि भएको हो ।