सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाबाट संकलन गरिएको ८२५ वटा स्वाव कोरोना परिक्षण गर्दा नेगेटिभ आएपछि यहाँका स्थानियमा रहेको त्रास हटेको छ ।
जिल्लाको एउटै गाउँपालिकाबाट कोरोना परीक्षणका लागि ८२५ स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो । दुई दिन लगाएर परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा त्रास हटेको हो ।
हवाई मार्गबाट सिधा जुम्ला पठाई पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डा. मङ्गल रावलले बताए ।
यसअघि गाउँपालिकाले आठ वटै वडामा जिल्ला बाहिरबाट भित्रिएर क्वारेन्टाइनमा बस्दैआएका व्यक्तिहरूको स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा सीता एयरमार्फत पठाएको थियो । प्रतिष्ठानले जुम्ला, हुम्ला र डोल्पा जिल्लाका सम्भावित कोरोना आशङ्काका स्वाबहरूको पीसीआर परीक्षण गर्ने जिम्मेवारी पाएको छ ।
भीटीएम किट बोकेर पाँचदेखि छ घण्टा पैदल गएर क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब सङ्कलन गरी जिल्लाबाट परीक्षणका लागि जुम्ला पठाइएको थियो । स्वाब सङ्कलन गरिएका व्यक्तिहरूको क्वारेन्टाइन अवधि भने पूरा भएको छैन । सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक दानबहादुर बोहराले प्रतिष्ठानमा कोरोना सङ्क्रमणको पीसीआर परीक्षण गर्न समय लाग्ने भएको कारण क्वारेन्टाइन अवधि अगाडि नै स्वाब सङ्कलन गरी पठाइएको जानकारी दिए ।
गाउँपालिकाका आठ वटा वडामा १३ वटा क्वारेन्टाइनहरू स्थापना भएका छन् । उहाँहरू सबै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट हवाई तथा पैदल मार्गबाट उद्धार गरिएका हुन् । यसअघि सिमकोट गाउँपालिकाले आफैँ दुई हजार भीटीएम किट खरिद गरेको थियो ।