८ असार, काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ जिम्मेवारीमुक्त भएका छन् । तामाङ मन्त्री नियुक्त भएको १९औं दिनमा पदमुक्त भएका हुन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधीसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद् पुनर्गठनको निर्णयविरुद्ध दायर गरेको रिटमा मंगलबार सर्वाेच्च अदालतले मुद्धाको अन्तिम टुंगो नलाग्दासम्मका लागि विस्तारित मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीस प्रकाश कुमार ढुगांनाको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २७ मा गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते पुनर्गठन गरेको मन्त्रिपरिषद्मा तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका थिए ।
सर्वोच्चको आदेशपछि मन्त्री तामाङसहित अन्य २० जना मन्त्रीहरु पदमुक्त भएका छन् ।