२४ असोज, काठमाडौँ । नेपालमा शनिबार ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना फैलिए यता शनिबार सबैभन्दा बढीमा कोरोना देखिएको हो । यसअघि बिहीबार हालसम्मकै धेरै ४ हजार ३६४ मा कोरोना देखिएकोमा शनिबार उक्त रेकर्ड पनि तोडिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० नमुना परीक्षण गर्दा १ हजार ८ सय २३ महिला र ३ हजार १ सय ८५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ जना पुगेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । जसमध्ये ७४ हजार २ सय ५२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १ हजार २ सय २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७०.२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल १३ हजार ६ सय ५४ जना संस्थागत आइसोलेसनमा र १७ हजार १ सय ६४ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ६ सय ८६ जना क्वारेन्टिनमा रहेका छन् ।
शनिबार देशभरी ३ सय २१ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ७७ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै १४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला संक्रमण मुक्त छन् ।