१५ जेठ, काठमाडौं । सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मिल्क बैंक सञ्चालन गरिने बताएका हुन् ।
अर्थमन्त्री डा.महतले वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्रका लागि समेत आवश्यक पूर्वाधार विकास तथा उपकरण खरिद गर्न बजेट व्यवस्था गरेको बताए ।
त्यस्तै, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि पनि बजेट व्यवस्था गरिएको छ ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।