२ असार, काठमाडौं । नेपालमा पनि मंकिपक्सका शंकास्पद संक्रमित भेटिएको छ । दुबईबाट काठमाडौं आएका एक पुरुषमा मंकिपक्सका लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले सो व्यक्तिमा मंकिपक्ससँग मिल्दो जुल्दो लक्षण भेटिएपछि टेकुस्थित शुक्रराज अस्पताल पठाएको हो ।
दुबईबाट आएका २७ बर्ष युवकमा सात दिनदेखि लगातार ज्वरो आएको तथा शरीरमा मंकिपक्स भाइरसको जस्तो देखिने राता राता फोका पाइएको अस्पताल स्रोतले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकृत नवराज गौतमले युवकको अस्पतालमा थप परीक्षण भइरहेको जानकारी दिए ।
विदेशबाट आएका ती पुरुषको शरीरमा साना साना मंकिपक्ससँग मिल्दा जुल्दा बिमिरा देखिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले परीक्षणको लागि अस्पतालमा रिफर गरेको हो ।
मंकिपक्स हो वा होइन भन्ने यकिन चाहिँ थप परीक्षण गरेपछि मात्र भन्न सकिने अस्पतालका सूचना अधिकृत गौतमले बताए ।
मंकिपक्सको परीक्षण हाल नेपालमा नहुने भएकाले यो विषयमा के गर्ने भनेर छलफल भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
यो भाइरस संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ वा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषगरी अफ्रिकी मुसा वा बाँदरबाट ‘मंकिपक्स भाइरस’ मानिसमा सर्दछ ।