१७ वैशाख, काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा गरेको निषेधाज्ञामा थप कडाई गर्ने भएको छ ।
मुलुकमा कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिएर विषम परिस्थिति सिर्जना भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।
निषेधाज्ञा अवधीभरका लागि अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक, बजार सञ्चालन तथा अन्य सबै प्रकारका वस्तु वा सेवा आपूर्ति तथा सञ्चालनमा आवश्यक नियन्त्रण र नियमन गर्ने व्यवस्था गरिएको छ ।
अतिआवश्यक काम नपरी घर बाहिर ननिस्कन र यात्रा नगर्न गृह मन्त्रालयबाट बिहीबार जारी विज्ञप्तिमा अनुरोध गरिएको छ ।
मन्त्रिपरिषद्को यही १३ गतेको निर्णयअनुसार सहरमा ५ सयभन्दा बढी र पहाडी जिल्लामा २ सयभन्दा बढी सङ्क्रमित भेटिएमा प्रमुख जिल्ला अधिकारीलाई जुनसुकै बेला निषेधाज्ञा जारी गर्नसक्ने अधिकार दिएको छ ।
सोही अनुरुप वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायतका कोरोना भाइरसबाट अति प्रभावित जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि उपत्यकाका १४८ भन्दा बढी स्थानहरुमा ट्राफिक प्रहरी र २ सयभन्दा बढी चोकहरुमा जनपथ प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले एक हजार २४८ वटा सवारीसाधनलाई सडकमै ‘होल्ड’ गरिदिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार दुई हजार सर्वसाधारणलाई सम्झाएर फिर्ता पठाइएको छ ।
