नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
बुधबार भर्चुअल पत्रकार सम्मेलनमार्फत केन्द्रीय तथ्याङक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन् ।
विभागको तथ्याङक अनुसार महिलाको कुल संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ९ हजार ८५८ ले बढी रहेको छ ।
त्यस्तै जनगणना विवरण अनुसार २१ लाख ६९ हजार ४७८ नेपाली विदेशमा छन् ।
तथ्याङ्क अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै जनसंख्या ६१ लाख २६ हजार २८८ छ । धेरै जनसंख्या हुने प्रदेशको दोस्रोमा बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ ।
त्यस्तै लुम्बिनी प्रदेशमा ५१ लाख २४ हजार २२५, प्रदेश नं १ मा ४९ लाख ७२ हजार २१, सुदुरपश्चिममा २७ लाख ११ हजार २७०, गण्डकीमा २४ लाख ७९ हजार ७४५ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जनसंख्या छ ।
२०७८ को जनगणनामा जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत छ । नेपालमा १ प्रतिशत भन्दा कम वृद्धिदर भएको पछिल्लो ८० वर्षयताकै यो पहिलो पटक हो ।
विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । २०६८ सालको जनगणनानुसार नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।