२८ भदौ, काठमाडौं । नेपालमा आइतबार थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय ६५ जना महिला र ६ सय ७४ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५ पिसिआर परीक्षण भएकामध्ये १ हजार ३९ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । जसमध्ये आइतबारसम्म ३८ हजार ६ सय ९७ जना भने निको भइसकेका छन् । अब नेपालमा १५ हजार १ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय ७३ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको दर ७१.४ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ७ हजार ७ सय ३० जना संस्थागत आइसोलेसनमा र ७ हजार ३ सय ८७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ५ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर आइतबार १६९ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने २३ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त छन् ।