१ असोज, काठमाडौँ । बिहीबार देशभर १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ६ सय २१ नमुना परीक्षण गरिएकोमा ४ सय २८ जना महिला र ८ सय १८ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ । जसमध्ये ४२ हजार ९ सय ४९ जना निको भइसकेका छन् । अब नेपालमा १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.०९ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ७ हजार ९ सय ०३ जना संस्थागत आइसोलेसनमा र ८ हजार ३ सय ३८ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर बिहीबार १८२ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् भने ३९ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला संक्रमण मुक्त छन् ।