३१ भदौ, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले शंकास्पद मृत्यु भएकाको कोरोना परीक्षण गराउनु नपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले मृत्यु पश्चात कोभिड–१९ परीक्षण गर्नु नपर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयले शंकास्पद मृत्यु भएका व्यक्तिको सम्पर्कमा आएका जोकोही पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने तर शव बाट नमुना निकालेर कोभिड–१९ परीक्षण नगर्ने नगराउने भनेको छ ।
आगामी दिनमा मृत्यु भइसकेकाको स्वाब परीक्षण गर्ने सम्बन्धी निर्देशिका परिवर्तन गर्दै लगिने पनि प्रवक्ता डा.गौतमले बताए ।
मन्त्रालयले शंकास्पद रुपमा मृत्यु भएको शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाएर दाहसंस्कार गर्नु पर्ने भनेको छ ।
त्यस्तै कोरोना परीक्षणका लागि आएका सबै नमुनाहरु नेगेटिभ आएका एक महिना र पोजिटिभ आएका तीन महिनासम्म अनिवार्य रुपमा स्टोर गरेर राख्न पनि मन्त्रालयले सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ३७९ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएकाहरुमध्ये अधिकाँशको मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।