१८ असोज, काठमाडौँ । नेपालभर आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ नमुना परीक्षण गर्दा ८ सय ३० महिला र १ हजार ४ सय २३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । जसमध्ये ६४ हजार ६९ जना निको भइसकेका छन् । अब नेपालमा २१ हजार ३ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७३.७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा र ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार २ सय ३ जना क्वारेन्टिनमा रहेका छन् ।
आइतबार देशभरी २ सय २६ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३४ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र डोल्पा ३ जिल्ला संक्रमण मुक्त छन् ।