६ असार, काठमाडौं । नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८ हजार ६ सय ५ पुगेको छ । जसमध्ये ७५६ जना महिला र ७ हजार ८४९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४९ जना महिला र २८२ जना पुरुष गरी ३३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ हजार ५७८ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेहरुमा १४१ महिला र १ हजार ४३७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १८ जना महिला र १५८ जना पुरुष गरी १७६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
गएको २४ घण्टामा कुनै कोरोना संक्रमितको पनि मृत्यु नभएको पनि प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । हालसम्म ७४ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।