७ असार, काठमाडौं । नेपालमा आइतबार थप ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ९ हजार २६ पुगेको छ । जसमध्ये ८२० जना महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४ जना महिला र ३५७ जना पुरुष गरी ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म ७५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आज एक जिल्ला थपिएको हो ।
संक्रमितमध्ये अहिलेसम्म १ हजार ७७२ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेहरुमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ८ जना महिला र १८६ जना पुरुष गरी १९४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
त्यस्तै गुल्मी छत्रकोट गाउँपालिका–०५ का ७५ बर्षीय पुरुषको मृत्यु भएको छ । प्यारालायसिस उपचारको लागि भारत गएका उनी जेठ २५ गते नेपाल आएर होम क्वारेन्टाइनमा बसेका थिए । उनको असार ५ गते घरमै मृत्यु भएको हो । सोही दिन उनको नमुना संकलन गरी पिसिआर परीक्षणका लागि प्रदेश प्रयोगशाला भैरहवा पठाइएकोमा असार ६ गते कोरोना संक्रमण पुष्टि भएको हो । मृतकको शव असार ६ गते नै नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको पनि प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।