१० असार, काठमाडौं । नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११० जना महिला र ५१९ जना पुरुष गरी ६२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमितमध्ये अहिलेसम्म २ हजार ३३८ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेहरुमा १९७ महिला र २ हजार १४१ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ जना महिला र १०६ जना पुरुष गरी ११४ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २४ जनाले ज्यान गुमाइसकेका छन् । ७६ जिल्ला (रसुवाबाहेक)मा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।