११ असार, काठमाडौं । नेपालमा बिहीबार थप ४३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमध्ये १ हजार १४२ जना महिला र १० हजार २० जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना महिला र ३८६ जना पुरुष गरी ४३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २६ जनाले ज्यान गुमाइसकेका छन् । नेपालका ७६ जिल्ला (रसुवाबाहेक)मा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
३१२ जना निको भए
संक्रमितमध्ये अहिलेसम्म २ हजार ६५० जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेहरुमा २१६ महिला र २ हजार ४३४ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा १९ जना महिला र २९३ जना पुरुष गरी ३१२ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
दुई संक्रमितको मृत्यु
स्याङ्जा आँधिखोला–०१ का कोरोना संक्रमितको मृत्यु भएको छ । उनलाई मधुमेह र श्वासप्रश्वासको समस्या रहेकोले फेवा सिटि अस्पताल पोखरामा भर्ना गरिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरी आइसियु कक्षमा उपचार गरिएको थियो । उनको असार १० गते राति ११:३५ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
त्यस्तै ललितपुर महालक्ष्मी–०५ का कोरोना संक्रमितको पनि बिहीबार बिहान मृत्यु भएको छ । उनको ५ महिना अघि मात्र मानव अगं प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरिएको थियो । कोखा दुखेपछि पुन सोही अस्पताल गएका उनलाई अस्पताल भर्ना हुनुपर्ने भएपछि नर्भिक अस्पतालमा भर्ना भएकोमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल रिफर गरिएको थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलकोे आइसियुमा उपचाररत उनको बिहीबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।