११ असार, काठमाडौं । नेपालमा बिहीबारसम्म थप दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो पटक ललितपुरका ५० बर्षीय पुरुष र स्याङ्जाका ५५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्याङ्जा आँधिखोला–०१ का कोरोना संक्रमितको मृत्यु भएको छ । उनलाई मधुमेह र श्वासप्रश्वासको समस्या रहेकोले फेवा सिटि अस्पताल पोखरामा भर्ना गरिएको थियो ।
उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरी आइसियु कक्षमा उपचार गरिएको थियो । उनको असार १० गते राति ११:३५ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
त्यस्तै ललितपुर महालक्ष्मी–०५ का कोरोना संक्रमितको पनि बिहीबार बिहान मृत्यु भएको छ । उनको ५ महिना अघि मात्र मानव अगं प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरिएको थियो ।
कोखा दुखेपछि पुन सोही अस्पताल गएका उनलाई अस्पताल भर्ना हुनुपर्ने भएपछि नर्भिक अस्पतालमा भएकोमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल रिफर गरिएको थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलकोे आइसियुमा उपचाररत उनको बिहीबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।