२२ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ३८ महिला र ६ सय ४१ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको पिसिआर परीक्षण गर्दा ९ सय ७९ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ४७ हजार २ सय ३६ पुगेको छ । नेपालमा हाल १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ३० हजार ६ सय ७७ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ६५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ९ हजार ६६ जना संस्थागत आइसोलेसनमा र ७ हजार १ सय ९० जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ७ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।
हाल १७१ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने २० जना भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयका अनुसार ताप्लेजुङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त भएका छन् ।
गत २४ घण्टामा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ जसमध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।